चर्को हर्न बजाएर मोटरसाइकल नचलाउ भन्दा एकजनाले ज्यान गुमाउनु पर्यो

१० भदौ – स्याङ्जा, स्याङ्जामा एक युवकको हत्या भएको छ । उनको चर्को हर्न बजाएर मोटरसाइकल नचलाउ भन्दा हत्या भएको हो ।

 

वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको हत्या भएको हो । थापाले चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा कुटपिट गरेर युवाहरुको समूहले हत्या गरेको प्रहरीले बताएको छ । आइतबार हत्या आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका–६ बस्ने २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् ।

 

 

वालिङ नगरपालिका–५ जर्कोटस्थित मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढाल बहादुरलाई शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।

 

उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्