२९ साउन- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय विक्रान्त वली समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले भेरीबाट सुर्खेततर्फ आउँदै गरेको भे. १ ह ७०७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ तिरूवा बस्ने २७ वर्षीय रोहित चेपाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ६९१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट र डिकोलिक ५ सय १० ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २४ वर्षीय सलमान मंसुरी, सिराहा घर भएका २४ वर्षीय होम मुखिया, ईटहरी उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय कोरूजित सरदार र सोही नगरपालिका-११ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी खनार समेतबाट खटिएको प्रहरीले ईटहरी उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले हाल फरार अवजल मियाको खोजी गरिरहेको छ ।
धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ४८ वर्षीय पप्पु साह र बारा परवानीपुर गाउँपालिका-२ बस्ने ३० वर्षीया सेलो देवी राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा. ८७ प ९६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८ ग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररीया थाना जोगवनी बस्ने ३९ वर्षीय अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रूबी खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ डाँगीबारी बस्ने २१ वर्षीय बिमल विश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्