२६ साउन- बैतडी, झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी अन्दाजी १३ बर्षीया आरती रोकायाको झाडापखालाबाट मृत्यु भएको हो ।
तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान साढे ५ बजेको समयमा घरमै निधन भएको महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीले बताएकी छन ।
झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ। उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको खुल्न आएको छ । महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत आरतीको निधन भएपछि अहिले जोखल्ली गाउँ शोकमा रहेको छ।
मृतकका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका र छोरीको निधन भएपछि घर फर्किन लागेका छन। सोही घरमा थप दुईजना बालबालिकामा झाडापखाला देखिएको महिला स्वास्थ्य स्वयंसेविका नेगीले बताए।
पखालाबाट एकजनाको मृत्यु भएको र दुईजनामा पखाला देखिएपछि हाडाकोट स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी बोलाएको छ।जोखल्ली गाउँ स्वास्थ्यचौकीबाट टाढा रहेको र अहिले उक्त गाउँमा स्वास्थ्यकर्मी गइरहेको हाडाकोट स्वास्थ्यचौकीका प्रमुख विरेन्द्र बोहराले बताए।गाउँमा पुगेपछि मात्रै घटनाका बिषयमा एकीन हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्