२५ साउन – बाजुरा, विष्णुपानी क्षेत्रमा भिरबाट लडी मृत्यु भएका दुई जना धार्मिक तीर्थयात्रीको शव नेपाली सेनाले उद्धार गरेको छ।
२०८२ साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरेर फर्किने क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते भिरबाट लडी घटनास्थलमै ज्यान गुमाएका थिए। दुवै जनाको शव विष्णुपानीको भीरमा अड्किएको थियो।
भौगोलिक कठिनाइका कारण स्थानीय नेपाल प्रहरीले तत्काल उद्धार गर्न नसकेपछि नेपाली सेना खटाइएको थियो। बाजुरास्थित ईश्वरीबक्स गुल्म, स्थानीय समुदाय र नेपाल प्रहरीको सहकार्यमा साउन २४ गते साँझ शव निकालिएको हो।
खराब मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेपछि शवलाई बाटो हुँदै तल ल्याएर हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको छ।
खतरनाक भिरालो भूभाग, अवरोधपूर्ण बाटो र प्रतिकूल मौसमबीच पनि नेपाली सेनाले शव निकाल्न सफल भएको छ। स्थानीय बासिन्दा र यात्रुहरूले सेनाको यो मानवीय र पेशागत कार्यको प्रशंसा गर्दै संकटका बेला नेपाली सेनाको भूमिका अनुकरणीय रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्