अनुसन्धानका लागि श्रीमानसहित सासू र ससुरा पक्राउ

२० साउन-कञ्चनपुर, घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित सासू र ससुरालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ परेका छन । सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो। त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको हो।


आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमानसहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको।

सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन्। सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ। सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए।


गएको शनिबार सम्झना र पवनबीच झगडा भएको थियो। उक्त झगडापछि त्यही दिन दुवैजना बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए। प्रहरीले दुवैजनालाई सम्झाई–बुझाई घर पठाएको थियो। त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी थिइन। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्