१९ साउन- काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, नोर्फिन ५४ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-९ घर भएका ३० वर्षीय सन्तोष तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नेपालटारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ बस्ने ६० वर्षीया ईश्वरी बखती र उनकै बुहारी २६ वर्षीया प्रभा खत्रीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार १ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । साथै तारकेश्वर नगरपालिका-७ फुटुङस्थित प्रभाको माईतीघरबाट थप ट्रामाडोल १५ हजार ७ सय ५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । यसैगरी तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट घर भएका ३१ वर्षीय राम बखतीलाई समेत ट्रामाडोल १ हजार १ सय ९० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोजीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अनुप कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिकमा-१५ रातोमाटे चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम २ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने २२ वर्षीय समिर मोक्तान र सोही उपमहानगरपालिका-१० बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-४ घर भएका २४ वर्षीय सिद्धार्थ आलेमगर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ज ०४१४ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी डेरा गरी बस्ने धादिङ सिद्धलेक गाउँपालिका-१ कालिदह घर भएका २४ वर्षीय राजन गुरूङलाई नियन्त्रित लागूऔषध नोर्फिन २ सय ५८ एम्पुल, डाइजेपाम १ सय ७६ एम्पुल र फेनारगन २ सय २४ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका-३ बस्ने २२ वर्षीय हेमराज कुँवर र कैलाली गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय बिक्रम विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा ५ किलो ३ सय ३० ग्राम सहित सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय संजित घिसिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेको बा.प्र.०२-०३२ प ५९१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक संजितलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
झापा, शिवसताक्षी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुमार ताजपुरिया र सोही नगरपालिका-४ बस्ने २१ वर्षीय अजय ताजपुरिया रहेका छन् । इलाका प्रहरी कार्यालय शिवगंज समेतबाट खटिएको प्रहरीले राजेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्