१८ साउन- रौतहट, आइतबार बिहान भएको सवारी दुर्घटनामा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ। घटना रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा भएको हो ।
विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ को ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको को २ त ३२६३ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा दुर्घटना भएको थियो।
कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशील कुमार क्षेत्री मोटरसाइकल चालक र पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा चोट लागेको थियो। घाइते दम्पतीलाई उपचारका लागि तत्काल वीरगन्जस्थित नेशनल मेडिकल पठाइएकोमा डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको थियो।
अर्की घाइते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक फरार छन् भने गाडीको पूर्ण विवरण खुल्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्