होच्याएको रिसले ह्याम्मरले हानेर कामदारको हत्या

१४ साउन- काठमाडौं, आफ्नै मालिकबाट भारतीय नागरिकको हत्या भएको छ ।

भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा भएको हो । पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका–८ मात्रा गाउँका ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् । हत्या गर्ने उनी मालिक रहेको खुलेको छ ।


मालिक भनिने कालिकोटेको सुनचाँदी पसल थियो । उनको पसलमा पाल सुनारको काम गर्थे । साउनको १३ गते दुवैजना सँगै मदिरा पिएर पालको कोठामा सुत्न भनेर गएका थिए । न्ह्योखास्थित विष्णुभक्त श्रेष्ठको घरको तेस्रो तलामा पालको कोठा थियो ।

 

उक्त कोठामा गएपछि आफूलाई किन होच्याएको भन्दै कालिकोटले पाललाई प्रश्न गरेको र त्यही निहुँमा विवाद भएपछि साउन १४ गते राति २ः४५ बजेतिर हत्या गरेको कालिकोटेले बताएका छन् ।

 

होच्याएकाले रिस उठेपछि नजिकैको ह्याम्मरले हानेर हत्या गरेको उनले भनेका छन । हत्यापछि फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले नयाँ बसपार्कस्थित विपिन श्रेष्ठले सञ्चालन गरेको ऋषिकेश गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्