१४ साउन- कञ्चनपुर, स्थानीय सरकारहरु धमाधम छाउगोठ भत्काउन अहिले लागिपरेका छन्।
पक्की घर भए पनि कुरीति अन्धविश्वासका कारण गत असार अन्तिम साता छाउ बार्न छाउगोठमा बसेकी कृष्णपुर–१, निगालीकी २८ वर्षीया कमला आउजी (दमाईं) को निधन भएपछि स्थानीय सरकार छाउगोठ भत्काउन अघि सरेको छ। असार २८ गते कमलाले ज्यान गुमाएकै गोठ उतिबेलै भत्काएदेखि अहिले पनि कृष्णपुरमा निरन्तर गोठ भत्काउने क्रम जारी छ।
जिल्लका दुई पालिकाले छाउगोठ भत्काउने अभियान निरन्तर जारी राखेका छन। कृष्णपुर नगरपालिका– १ का वडाध्यक्ष मोहन बस्नेतले पालिकासहितको टोलीले हालसम्म १७ छाउगोठ भत्काएको बताएका छन।
बेदकोट नगरपालिका– १० का वडाध्यक्ष रतनसिंह विष्टले एकैदिन २० गोठ भत्काएको जानकारी दिएका छन। कृष्णपुरका मेयर हेमराज ओझाले छाउगोठ भत्काउने कार्य निरन्तर चलिरहेको बताए। यता बेदकोट नगरका मेयर भोजराज बोहराले छाउगोठ भत्काउन वडा समितिलाई निर्देशन दिएको बताएका छन।
गोठ भत्काउनेसँगै सचेतना कार्यक्रम सञ्चालन गरिने उनिहरुको भनाइ रहेको छ।
प्रतिक्रिया दिनुहोस्