अब विवाह गर्न वडा कार्यालयबाट अनुमति लिनुपर्ने

१३ साउन- वीरगन्ज, विवाह गर्न पनि वडा कार्यालयबाट अनुमति लिनुपर्ने नियम एक वडामा लागु भएको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मा मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले वडा कार्यालयबाट यस्तो निर्णय गरिएको हो ।

 

अनुमति बेगर कसैले पनि विवाह गरेमा कारबाही गर्ने वडामा निर्णय भएको छ। वडालाई बालविवाह मुक्त बनाउनका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष मुखियाले बताएका छन।

मंगलबार बसेको बैठकले वडा नम्बर ५ मा कसैले पनि विवाह गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने निर्णय गरेको, यस्तै विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने, वडा कार्यालयको स्वीकृति बेगर तथा २० वर्ष उमेर नपुगी विवाह गरेमा वडा कार्यालयबाट नियमानुसार कारबाही गर्ने निर्णय पनि गरिएको वडाध्यक्ष मुखियाले बताएका छन।

यस्तै बैठकले बालविवाह प्रथा निर्मूल गर्नका लागि वडाको घरघरमा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्