धेरै रक्सी पिउँदा २ जनाको मृत्यु

८ साउन -झापा, दुई जनाले अत्यधिक रक्सी पिउँदा उनिहरुको मृत्यु भएको छ । एक जनालाई कन्काईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।

 

आज बिहान कन्काई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका थिए ।

 

शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक रक्सी खाने गरेको स्थानीयले बताएका छन । उनले कन्काईमा बसेर ज्यालादारीमा घरमा रङरोगन लगाउने काम गर्दै आएका थिए ।

यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलमा सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले बताएको छ ।

सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए । उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत भेटिएका दुवै जनाले अत्यधिक मदिरा सेवन गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।

झापामा उच्च गर्मी भएका बेला बेलुका धेरै मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्