३२ असार- रूपन्देही, नाबालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत रूपन्देहीले एक जनालाई आजीवन कैद सुनाएको छ।
मर्चवारी गाउँपालिका वडा नं. १ खुरखुरियाका अकबर अलि भनिने अहमद अलि दर्जीलाई रूपन्देही जिल्ला अदालतले कैदको फैसला सुनाएको छ।
८ वर्षीय बालिकालाई जबरजस्तीकरणी पश्चात् हत्या गरेको अभियोगमा जिल्ला न्यायाधीशले गत असार २९ गते दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको हो।
उनले विद्यालयबाट घर फर्किँदै गरेकी बालिकालाई बाटोमा एक्लै भेटेपछि दर्जीले बुवाले खेतमा पानी लगाउँदै गरेको र बुवा भएको खेतमा पुर्याइदिन्छु भनेर फकाएर एकान्त स्थानमा लगेर जबरजस्ती करणीपश्चात् हत्या गरेका थिए।
अदालतले गरेको फैसलामा पनि दर्जीले बालिकालाई फकाई फुलाई एकान्त स्थलमा लगेपछि मदिरा सेवन गरी जबरजस्ती करणी पश्चात् हत्या गरेर उल्लेख गरिएको छ।
बालिकालाई साइकलमा चढाएर लगेको देखेका प्रत्यक्षदर्शीले केरकार गर्दा पनि दर्जीले केही भनेका थिएनन्। घटनाको जानकारी भएपछि पक्राउ परेका दर्जीले प्रहरीको केरकारपछि भने बालिकाको हत्या गरेर स्वीकार गरी उनलाई फालेको स्थान समेत देखाएका थिए।
अदालतबाट भएको फैसलामा पीडित बालिकाको परिवारलाई अपराध पीडित संरक्षण कोषबाट ७ लाख रुपैयाँ, प्रतिवादीबाट थप एक लाख ५० हजार क्षतिपूर्ति भराउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस्