२९ असार-कञ्चनपुर, कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला दमाईको शनिवार राति सर्पको टोकाईबाट मृत्यु भएको छ। उनी घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण छाउगोठमा रात बिताउन गएकी थिइन्। स्थानीयका अनुसार राति करिब १० बजेतिर असुरक्षित छाप्रोमा निदाइरहेकी कमलालाई विषालु करेत सर्पले डसेको थियो।
छाउगोठमा उनी एक्लै सुतेकी थिइन्। एकाएक सर्पले डसेपछि कमला चिच्याउन थालेपछि परिवारले घटना थाहा पाउनेबित्तिकै हो–हल्ला मच्चियो। परिवार छाउगोठसम्म पुग्दा उनि बेहोस अवस्थामा पुगिसकेकी थिइन्, उनलाई बचाउन परिवारले हतार–हतार अटो रिक्सामा राखी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पु¥यायो। तर आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि समाजमा गहिरोसँग जरो गाडेको अन्धविश्वासका कारण घरबाहिरको छाउगोठमा सुत्न बाध्य पारिएकी कमला दमाईको अन्धविश्वासका कारण ज्यान गयो ।
प्रतिक्रिया दिनुहोस्