धरहरामा २ लाख बढी मानिस चढे भने चार करोडबढी कमाई

२७ असार- कठमाडौं, पुनः निर्माण भएर सञ्चालनमा आएको धरहराबाट चार करोड ८३ लाख रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ।

धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० रूपैयाँ राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराले जनाएको छ।

अहिले सम्म दुई लाख ६२ हजार ५५५ जनाले धरहराबाट उपत्यका अवलोकन गरेका छन्। जसमा एक हजार ५४९ विदेशी अवलोकनकर्ता रहेका छन्। हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन्।

 

धरहरा चढ्न प्रतिव्यक्ति २०० रूपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति १ हजार रूपैयाँ शुल्क तोकिएको छ।

 

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्