त्रिविको स्ववियुले शौचालयमा लगायो ताला, प्रिन्सिपलको कुर्सी कार्यकक्ष बाहिर

१९ असार- काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालयको शौचालयमा त्रिवि स्ववियुले ताला लगाएको छ ।

प्रिन्सिपल कार्यालयका शौचालयहरू मर्मत नभएको, सरसफाइ नगरिएको जस्ता विषयमा आपत्ति जनाउँदै स्ववियुले शौचालयमा नै ताला लगाएको हो । शौचालयमा ताला लगाइएपछि त्यहाँका कर्मचारीहरू अन्यत्र गएर शौच गर्न बाध्य भएका छन् ।

त्यस्तै प्रिन्सिपल अक्कलदेव मिश्रको कुर्सी समेत बाहिर राखिएको छ । काम नहुने पदको औचित्य नभएको भन्दै प्रिन्सिपलको कुर्सी कार्यकक्ष बाहिर राखिएको हो ।

स्ववियुले ब्वाइज होस्टल, गल्र्स होस्टल, व्यवस्थापन भवन अगाडिका शौचालयहरू सफा गर्नुपर्ने, घाँस काट्नुपर्ने जस्ता विषयमा प्रिन्सिपल कार्यालयको ध्यानाकर्षण गराएको थियो ।

तर, सरसफाइको विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा प्रशासनले बेवास्ता गरेपछि तालाबन्दी र कुर्सी बाहिर राख्नुपरेको स्ववियुले बताएको छ ।

स्ववियुले सीसीटीभी मर्मत तथा थप जडान गर्नुपर्ने, ब्वाइज तथा गल्र्स होस्टलमा खानेपानी र सरसफाइ सुधार गर्नुपर्ने, सम्पूर्ण शौचालयमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, लाइट जडान गर्नुपर्ने, बेसिनहरूमा पाइपलाइन र ह्यान्डवास सुविधा सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्