विदेशबाट फर्केका युवाको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा गर्नु पर्छ

१० असार- काठमाडौं, राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित ‘स्टार्टअप’ कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन। विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीतिनिर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताए।

‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बीउबिजन र मलको आपूर्ति, नवीनतम औजार(उपकरण(यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन्। यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’ राष्ट्रपतिले भने,

 

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औधोगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पूरा गर्न सकिने बताए। उनले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता तथा उच्च व्यापार घाटाको प्रतिबिम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्यून आय हुने परिवारको पेसाका रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए।

राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको जनाउँदै उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए।

सो अवसरमा राष्ट्रपति पौडेलले कोशी प्रदेशबाट ‘आर्य कृषि फार्म’का सुरेशकुमार मेहता र ‘रमेश कृषि फार्म’का रमेश साह, मधेश प्रदेशबाट ‘शम्भुनाथ माछा फार्म’का भरतकुमार यादव र निजगढ केरा एग्रिकल्चर फार्मका हिराबहादुर थापा मगरलाई पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्