पौडी खेल्ने क्रममा भेरी नदीमा बगेका तीनै जना बालबालिकाको मृत्यु

२७ जेठ- सुर्खेत, पौडी खेल्ने क्रममा भेरी नदीमा बगेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका-८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका हुन । बेपत्ता तीनै जना बालबालिकाको शव फेला परेको छ ।

बगेर बेपत्तामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७, चापाखोला नजिक फेला परेको छ ।

बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर उनको शव फेला परेको हो ।नलगाड नगरपालिका–८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो । सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन् । उनको पनि सोमबार शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू तीनै जना गत शुक्रवार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी गएका थिए ।सुरुमा आशाका भाइ महेश बगेका थिए । महेशलाई बचाउन भन्दै आशा र भगवती पनि भेरीमा गएका थिए । अन्ततः तीनै जना बगेको हुन ।

नदीमा तीन बालबालिका बगिरहेको भन्ने सूचना पाउनासाथ रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट ९ जनाको प्रहरी उद्धारका लागि खटिएका थिए ।

प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल पुर्‍याउँदा चिकित्सकले शुक्रबार दिउँसो मृत घोषणा गरेका थिए । महेशको शव बगेको ठाउँबाट झन्डै ९ सय मिटर दक्षिणबाट बेलुका चार बजेतिर फेला परेको थियो ।

घटनास्थल जाजरकोट र रुकुम पश्चिमको सीमा क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्