२० जेठ- काठमाडौं, क्यानडाको क्यालगरी शहरमा मे २८ मा सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । अल्बर्टा नेपाल च्यामबर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एन सी एस सी एवं गैर आवासीय नेपाली संघ क्यानडाको समेत संयोजन गरी उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका मुख्य अतिथि डेभ रोड़्नी तथा मींग्मा तेन्जींग शेर्पा रहेका थिए । २ पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टा नेपाल च्यामबर अफ कमर्सका विशेष सल्लाहकार समेत हुन् ।
नेपाल र क्यानडा दुवै देशका राष्ट्रिय गानबाट कार्यक्रमको शुभारम्भ भएको थियो भने नेपालको साङ्गीतिक प्रस्तुति पनि पस्किइएको थियो।
कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दाको अनुभवसहीतको प्रस्तुति दिएका थिए । कार्यक्रमका अर्का आकर्षणको रूपमा उपस्थित मींग्मा शेर्पा सगरमाथा आरोही छन् । उनले कार्यक्रममा हिमालय क्षेत्रको महत्त्व र आरोहणका बारेमा बताएका थिए ।
कार्यक्रमका अतिथिहरुलाई च्यामबरका सञ्चालक ध्रुव राईले खादा पहिराएका थिए भने च्यामबरका अध्यक्ष समीर पाण्डेले खादा सहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्यानडा स्थित नेपाली राजदूत महामहिम भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिडियो मार्फत प्रस्तुत गरिएको थियो। त्यसै गरी नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रकिंग एजेन्सी अफ नेपाल ९टान० का तर्फबाट रामचन्द्र सेढांई तथा त्रिभुवन विश्व विद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा। पशुपति न्यौपानेबाट प्राप्त शुभकामना सन्देशहरु भिडियो मार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रमको प्राविधिक संयोजन च्यामबरका सञ्चालक विक्रम अधिकारीले गरेका थिए भने व्यवस्थापकीय जिम्मेवारीको भूमिका च्यामबरका कोषाध्यक्ष अनन्त आचार्यले निभाएका थिए ।
प्रतिक्रिया दिनुहोस्