अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

१६ जेठ – कैलाली, भजनी नगरपालिका-५ दुदुवाफाँटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ रजवारा बस्ने २६ वर्षीय नरेश परियार समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, रत्ननगर नगरपालिका-१४ पिठुवाबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३३ वर्षीय राजेश गुरूङ र उनकै श्रीमती ३० वर्षीया रेखा गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट पिठुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

रूपन्देही, मायादेवी गाउँपालिका-१ अहिरैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कहार र २६ वर्षीय गोबिन्द लोध रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दैलेख, आठबीस नगरपालिका-३ शाहीखोलाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७६ वर्षीय परे कार्की र उनकै श्रीमती ७० वर्षीया तुलसी कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले उनीहरूको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट सहित उर्लावारी नगरपालिका-४ बस्ने २४ वर्षीय प्रसान भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने २३ वर्षीय राज कुमार भुजेल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ३२ वर्षीय सुबास गुरूङ र २८ वर्षीय भिसन गुरूङ रहेका छन्  । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भाईरल रोडबाट नियन्त्रित लागूऔषध रेक्सोजेसिक ३६ एम्पुल, फेनारगन ३७ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २३ वर्षीय रमेश दमाई र १९ वर्षीय दिपक दमाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ५ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट सहित मनहरी गाउँपालिका-८ मनहरी बजार डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१४ घर भएका २८ वर्षीय सुशिल श्रेष्ठलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्