५ जेष्ठ- काठमाडौं, आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीमा नेपालले आफ्नो पहिलो खेलमा यूएईको सामना गर्दैछ । दुई टिमबीचको खेल सोमबार बिहान ८ः१५ देखि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । हाल यूएईको ६ र नेपालको ५ अंक छ । तर, यूएई विजयी भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त हुने छैन ।
सोमबारको खेल यदि वर्षाका कारण रद्द भएमा नेपालको ६ अंक हुनेछ । त्यसपछि ग्लोबल छनोटमा पुग्न नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराउनै पर्ने समीकरण बन्ने छ ।
पछिल्लो समय यूएईविरुद्ध नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ । यी दुई टिमले अन्तिमपटक गत वर्षको १९ जुलाईमा एकअर्काको सामना गरेका थिए । सो खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । नेपाल यसपालि पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा छ ।
जारी प्रतियोगितामा समूह चरणमा नेपालको प्रदर्शन मिश्रित रह्यो । ग्रुप स्टेजमा नेपालले हङकङसँग एक खेलमा हार बेहोर्दा पहिलो म्याचमा वर्षाका कारण अंक बाँड्यो । नेपालले बहराइनलाई भने दुवै खेलमा पराजित गरेको थियो ।
एउटा हारले गर्दा नेपाल सुपर थ्रीमा पुग्न हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्द हुनुपर्ने समीकरण बनेको थियो । उक्त समीकरण पूरा हुँदा नेपाल सुपर थ्रीमा पुगेको हो । एक अर्थमा भन्दा नेपाल वर्षाका कारण सुपर थ्री खेल्न लागेको हो ।
नेपाली टिम अब त्यो मौकाको फाइदा उठाउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने योजनामा छ ।
यूएईले समूह चरणमा कतार र मलेसियाविरुद्ध समान एक जित निकाल्यो । यूएईले ती दुई टिमसँगको एक एक खेलमा भने वर्षा बाधक बन्दा अंक बाँड्यो । उसले समूह चरणमा ६ अंक जोड्यो ।
यता नेपाल ५ अंकका साथ सुपर थ्री खेलिरहेको हो । सुपर थ्रीमा पहिलो चरणको अंक पनि जोडिनेछ । यस चरणमा नेपाल, यूएई र थाइल्याण्ड आपसमा एकपटक भिड्ने छन् । अंक तालिकाको शीर्ष दुईमा रहने टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस्