१० बैशाख- काठमाडौँ, केही समयअघि २६ वर्षीय एक पीडित युवकले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिए पछि कम्बोडिया पुर्याई साइबर दास बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घर भई हाल काठमाडौं ज्ञानेश्वर बस्दै आएका २२ वर्षीय सन्देश शाही रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले आरोपी शाहीलाई मङ्गलबार ज्ञानेश्वरबाटै पक्राउ गरेको हो । शाहीले सबैभन्दा पहिले पीडित युवकलाई कम्बोडियामा मासिक एक लाख रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने अनलाइन काममा लगाइदिने प्रलोभन देखाएका थिए । त्यही प्रलोभनमा परी युवक पनि कम्बोडिया जान तयार भए ।
त्यसका लागि १६ माघ २०८१ मा ती युवकलाई शाहीले नेपालगञ्ज नाकाबाट भारतको लखनउ पुर्याए । त्यसपछि लखनउको विमानस्थलबाट मलेसिया ट्रान्जिट हुँदै कम्बोडिया पुर्याए । कम्बोडिया पुर्याएपछि युवकलाई चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध कम्पनीमा लगाइयो ।
अनलाइन जागिरको आशमा कम्बोडिया पुर्याइएका युवकलाई बन्धक बनाएर क्रिप्टोकरेन्सीको काम गर्ने दबाब दिइयो । ती युवकले त्यहाँ केटी बनेर भारतीय व्यक्तिहरूलाई सम्पर्कमा ल्याई बिटक्वाइनमा लगानी गर्न लगाउनुपर्थ्यो । यसरी महिनामा २० लाख भारु कमाउनुपर्ने टार्गेट दिइएको थियो । त्यो टार्गेट पूरा गर्न युवकलाई दिनमा १३ देखि १५ घण्टासम्म लगातार काम गर्नुपर्ने उनको आरोप थियो । यसरी अन्य मान्छेलाई अनलाइन ठगी गर्न लगाएर साइबर दास बनाई श्रम शोषण गरिएको भन्दै पीडित युवकले उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा ब्युरोले शाहीलाई नियन्त्रणमा लिएको हो ।
ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति लिई आरोपित युवकमाथि थप अनुसन्धान भइरहेको छ ।
-टेकपाना
प्रतिक्रिया दिनुहोस्